साना उद्यमीको कर छुटलाई निरन्तरता दिनुपर्छ : गोल्छा

Apr 13, 2021

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना उद्यमीलाई दिइएको कर छुटलाई निरन्तरता दिनुपर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार साँझ बालुवाटारमा भएको छलफलमा अध्यक्ष गोल्छाले साना उद्यमीहरुलाई दिइएको कर छुटलाई निरन्तरता दिनुपर्ने बताएका हुन्।

कर छुटले गर्दा व्यवसायी सहजै पहिलेकै अवस्थामा फर्कन सक्ने उनको भनाइ छ। उनले दोस्रो त्रैमासदेखि अर्थतन्त्रमा सुधार देखिएको पनि बताए। राजस्व लक्ष्य पूरा नभएपनि बढ्दो त्रममा राजस्व उठेको उनको भनाइ छ।

‘सरकारी लक्ष्य अनुसार राजस्व उठ्नेछ। ऋणको माग बढेसँगै तरलाता सुरु भएको छ। यो सबै अर्थतन्त्र सुधारको संकेत हो’, उनले भने।

यस्तो छ गोल्छाले राखेको विचारको सम्पादित अंश:
कोभिडका कारण गत आर्थिक वर्षको यो समयमा हामी व्यवसायी ठूलो अन्योलमा थियौं। कोभिडको संक्रमण बढेसँगै लकडाउनको तयारी हुँदै थियो। तर, हामीले लकडाउन पछि यति छिट्टै देशको अर्थतन्त्र चलायमान होला भनेर सोचेका थिएनौं। जीवन पनि यति छिट्टै सहज होला भनेर हामीले अनुमान गरेका पनि थिएनौं। तर, आज हामी धेरैपछि यो जमघटमा उपस्थित हुन पाएका छौं। जनताको अनुशासित जीवनशैली, प्रतिकुलताका बाबजुद निजी क्षेत्रले उत्पादन र वितरणलाई दिएको निरन्तरता र सरकारको प्रभावकारी नेतृत्व एवं सहजीकरणले यो सम्भव भएको छ।

सरकारले विगत एक वर्षमा कोभिड नियन्त्रण र खोप वितरणमा गरेको काम उदाहरणीय पनि छ। त्यसमा पनि चालू आवको बजेट र मौद्रिक नीतिका कारण आज सहजै व्यवसायी तंग्रिन थालेका छन्। तर, देशको अर्थतन्त्र ऋणात्मक भएको छ। गत वर्ष दुई र यस वर्षको पहिलो त्रैमासमा करिब साढे ४ प्रतिशतले अर्थतन्त्र ऋणात्मक भएको छ।

दोस्रो त्रैमासदेखि अर्थतन्त्रमा सुधार भएको छ। राजस्व लक्ष्य पूरा नभएपनि बढ्दो क्रममा राजस्व उठेको छ। सरकारी लक्ष्य अनुसार राजस्व उठ्नेछ। ऋणको माग बढेसँगै तरलाता सुरु भएको छ। यो सबै अर्थतन्त्र सुधारको संकेत हो।

शोधनान्तर बचत विस्तारै घटन थालेको छ। मुलुकमा उत्पादन र उपभोग बढ्न थालेका छन्। औद्योगिक कच्चा पदार्थ, इन्धन र अन्य उपभोग्य सामानको आयात विस्तारै बढन थालेका छ। शोधनान्तर बचत घट्न थालेको हो। गत वर्षको ७ महिनामा र यस वर्षको सोही अवधिमा पनि ८ खर्ब रुपैयाँको आयात भएको छ। रेमिट्यान्स १० र निर्यात ८ प्रतिशतले बढेको छ। रोजगारीमा जाने युवा कम भए पनि रेमिट्यान्स बढेका छ। सस्तोमा उद्यमी व्यवसायीले पुँजी पाउँदा व्यवसाय सहजै लयमा फर्कन थालेका छन्। अझै पनि ४० प्रतिशत यस्ता उद्यमीलाई कुनै न कुनै प्रकारको सहयोगको खाँचो छ। कतिपय व्यवसाय त पूरै बन्द नै भइसकेका छन्।

अब धेरै व्यवसाय बन्द नहोस्। जेनतेन चलिरहेका उद्योगहरु पनि विस्तार हुन सकोस् भन्नका लागि अझै सहयोग आवश्यक छ। साना उद्यमीहरुलाई दिइएको कर छुटलाई निरन्तरता दिनु पर्नेछ। जसले गर्दा व्यवसायी सहजै पहिलेका अवस्थामा फर्कन सक्छन्।

यस्तै, विषय समेटेर साना तथा मझौला उद्यम पुनरुत्थान कार्यक्रम आवश्यक छ। जुन हामीले चैत २८ गते सार्वजनिक गर्न लागेको भिजन पेपरमा पनि समेटिएको छ। यसमा हामी सरकारसँग सहकार्य गर्न चाहन्छौं। प्रधानमन्त्रीज्यूलाई हामीले पहिले पनि जानकारी गराइसकेका छाैं। भिजन पेपरमा हामीले सन् २०३० सम्ममा १ अर्ब डलरको अर्थतन्त्र पुग्ने आधार, प्राथमिकताका क्षेत्र र ‘इनिसिएटिभ्स’ पहिचान गरेका छौं। दोहोरो अंकको आर्थिक वृद्धिमार्फत् अतिरिक्त २२ लाख रोजगारी सिर्जना सकिने हामीले देखेका छौं।

कोभिडपछिको पुनरुत्थानसँगै देश विकासका लागि १० वटा प्राथमिकताका क्षेत्रहरु पहिचान गरेका छौं। जसमा नीतिगत सुधार, पूर्वाधार विकास, श्रम व्यवस्थापन, साना उद्यमको प्रवर्द्धन लगायतका विषय छन्। भिजन पेपर हाम्रो आगामी वार्षिक साधारणसभा तथा वाणिज्य दिवसका अवसरमा चैत २८ गते सार्वजनिक गर्ने तयारी गरेका छौं। यसमा देशको अर्थतन्त्र सुधारका लागि आवश्यक सबै विषय समेटिएको छ। सरकारको समृद्ध नेपाल सुखी नेपाली अभियानका लागि यो सबै भन्दा बढी महत्वपूर्ण हुन्छ।


Related

corporate-news