गोल्छा ग्रुपले पाटन अस्पताललाई दियो १ करोड सहयोग

May 10, 2021

काठमाडाैं – गोल्छा ग्रुपले पाटन अस्पताललाई एक करोड रुपैयाँ सहयोग गरेको छ। गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेशनाथ गोंगललाई एक करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन्।

अस्पताललाई अत्यावश्यक उपकरण खरिद र स्वास्थ्यकर्मीको सेवा सहजताका लागि उक्त सहयोग गरिएको गोल्छाले जानकारी दिए।

‘आज गोल्छा ग्रुपको तर्फबाट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताललाई अत्यावश्यक उपकरण खरिद र स्वास्थ्यकर्मीको सेवा सहजताका लागि एक करोड रुपैयाँको सहयोग हस्तान्तरण गरेका छौं। आशा छ, हामी सबैले आ-आफ्नो स्थानबाट सहकार्य र हातेमालो गरेर यो महामारीबाट छिट्टै पार पाउन सफल हुनेछौं,’ उनले सामाजिक सञ्‍जाल ट्विटरमा लेखेका छन्।

कोरोना महामारीले अस्पतालहरुमा समस्या हुन थालेपछि व्यवसायीहरुले सहयोग गर्न थालेका छन्। यही क्रममा गोल्छा ग्रुपले पाटन अस्पताललाई सहयोग गरेको हो।

कोरोनाको पहिलो लहरको विषम् परिस्थितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाटन अस्पतालमार्फत कोरोनासँग जुध्न महत्त्वपूर्ण कार्य गर्दै आफ्नो सेवाबाट थुप्रै संक्रमितको जीवन रक्षा गर्न सफल भएको थियो। अस्पतालले सधैँ उत्कृष्ट कार्य गरेकोले उक्त प्रशंसनीय कार्यको उच्च मूल्याङ्कन गर्दै र अहिले दोस्रो लहरले झनै आक्रान्त बनाएको असहज परिस्थितिसँग जुध्न सहज होस् भन्ने हेतुले गोल्छा ग्रुपले उक्त सहयोग रकम हस्तान्तरण गरेको ग्रुपले जानकारी दिएको छ।

यसअघि जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक अध्यक्ष विजयकुमार शाहले धुलिखेल अस्पताललाई एक करोड ३५ लाख रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेका थिए।


Related

press-release